जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विपदबाट जाेगिन ,सजगता अपनाउन महानगरवासीलाई मेयर आचार्यको आग्रह

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरका मेयर धनराज आचार्यले वर्षाका कारण आउन सक्ने बिपद्को जोखिमबाट जोगिन थप सजगता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।

आइतबार एक अपिल जारी गर्दै मेयर आचार्यले पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण वडा नम्बर –२५ हेम्जामा केही घरमा क्षति पुगेको, पोखरा – ४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ लगायतका विभिन्न स्थानमा भासिनुका साथै ग्रामिण तथा सहरी सडक समेत अवरुद्ध हुन पुगेको भन्दै मेयर आचार्यले ति स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रस सहित सरोकारवाला संस्थासंग समेत सहकार्य गर्दै राहत उद्दार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिएका छन् ।

अपिलमा मेयर आचार्यले ‘बाढी, पहिरो र डुबान लगायतका कारण उत्पन्न विपद्को यो क्षणमा वर्षादका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुनेहुँदा थप सजगता अपनाउन, पूर्व सूचना/संकेतका आधारमा जोगिने उपायहरु खोज्न र विपत्तिमा सम्बिन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु । महानगर हजुरहरुकै सेवामा समर्पित भएको व्यहोरा अनुरोध गर्दछु’ उल्लेख गरेका छन् ।