जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा–३३ मा नयाँ ल्याण्डफिल्डसाइड बनाउन आवश्यक तयारी थाल्ने निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठकले पोखरामा नयाँ ल्याण्डफिल्डसाइडका लागि आवश्यक पूर्वाधार बनाउने निर्णय गरेको छ। शुक्रबार सम्पन्न कार्यपालिका बैठकले ल्याण्डफिलसाइड पोखरा ३३ मा सार्नेका लागि आवश्यक बजेट व्यवस्थापन गरेर पूर्वाधार तयार पार्ने सहितका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेकाले उडान संचालनका लागि बाधक बनिरहेको साविकको ल्याण्डफिल्डसाइ हटाउनु पर्ने भएकाले कार्यपालिकाको पहिलो बैठकले तत्कालै पोखरा–३३ मा नयाँ ल्याण्डफिल्डसाइड बनाउन आवश्यक तयारी थाल्ने निर्णय गरेको हो।

त्यसैगरी बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गर्दै शौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैङ्क, होटल, विभिन्न संघ संस्था र रेष्टुरेन्ट शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्ने दुईपक्षीय सम्झौता गर्ने निर्णय भएको छ।

यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चानमा ल्याउने भएको छ। जसमा सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजाललेले जानकारी दिए।

उनले पूर्वाधार तयार पार्ने गरी कामलाई अगाडि बढाएको बताए। छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रूपमा आपत्कालीन सेवा संचालन गर्दै महानगरको दायित्वभित्र पर्ने अत्यावश्यक कार्यलाई तत्काल अगाडी बढाउने निर्णय भएको रिजालले बताए। मेयर धनराज आचार्यको योजना अनुरूप नागरिकले महसुस गर्ने खालका कार्यक्रम समेत अगाडि बढ्ने उनले बताए।

पोखराका खाल्डाखुल्डी पुर्न समेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ। प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार पोखरा महानगरमा विभिन्न समिति गठन भएका छन्।

त्यसैगरी बैठकले विश्व बैंकले सहयोगमा तालचोक–बेगनासको तीन किलोमिटर दूरीको चार लेनको सडक निर्माणका लागि ठेक्का बोलपत्र स्वीकृत गरेको छ।  पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

वडा अध्यक्षहरू दिवशमान प्रधानंग, राधिका शाही, र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ रहेको समिति बनाइएको छ। यस समितिले अध्यायन गरेर अर्को कार्यपालिका बैठकमा प्रशासनिक भवन निर्माणका लागि स्थान सिफारिस गर्ने छ।