जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा- ३२ को वडा कार्यालयमा तालाबन्दी, महानगरमा धर्ना

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नं ३२ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन ।

गत भदौ ८ गतेको बाढीले भत्काएको नहर मर्मतको काम गर्दै गरेको डोजरको चाबी प्रशासनले लिएर काम रोकेपछी स्थानीय आक्रोशित बनेका हुन ।

वडा कार्यालयमा तालाबन्दी गरेर आक्रोशित स्थानीय नगरपालिका मा धर्ना दिन पुगेका थिए । सो क्रममा नगरपालिकामा केहिबेर सामान्य झडप समेत भएको छ ।

महानगर प्रमुख सहित बजेटको तयारी बैठक बसिरहेको महानगरको सभाहल बाहिर पुगेर भिडले नाराबाजी गर्न थालेपछी प्रहरी प्रशासनको सहयोगमा भिड तितरबितर गर्न खोज्दा सामान्य झडपको स्थिति समेत बन्यो ।

आक्रोशित स्थानीयले नगरपालिकाको बैठक हल अगाडीका केही गमला र कुर्सी समेत तोडफोड गरिदिएका छन ।

करिब ४ हजार रोपनी जग्गामा सिंचाइ हुने २ वटा नहर समयमा मर्मत नहुँदा बीउ समेत राख्न नपाएको भन्दै स्थानीयले सो वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन ।

लामो समयदेखी प्रदेश, संघ र स्थानीय तहमा समेत हारगुहार गर्दा उक्त नहर समयमै मर्मत हुन नसकेको स्थानीयको भनाई छ । – बर्खा लागिसक्यो, बीउ राख्ने कुराको टुंगो छैन, काम गर्दै गरेको डोजरको चाबी समेत खोसेर किसान मार्ने काम भएपछी हामिले बाध्य भएर धर्ना दियौं । एक स्थानीयले बताए ।

महानगर प्रमुख धनराज आचार्यले किसानहरुको समस्यामा आफुँ गम्भीर रहेको र छलफल गरेर समस्याको समाधान निकाल्ने बताएपछी भिड शान्त बनेको थियो ।