जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा स्पोर्टस अवार्डकाे ४ विधाको मनोनयन सार्वजनिक

जन्मभुमि खबर ,
पोखरा

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्सेनि दिँदै आएको ‘पोखरा स्पोर्टस अवार्ड’को ४ विधातर्फको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत वर्ष खेलाडी (महिला, पुरुष), वर्ष उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनय सार्वजनिक गरेको हो ।

असार १८ गते पोखरा सभागृहमा हुने छैटौं पोखरा स्पोर्टस अर्वाडको वर्ष खेलाडी पुरुषतर्फ ब्याडमिन्टनबाट विधान अधिकारी, करातेबाट बुद्ध लामा र टेनिसबाट प्रदीप खड्का छनोट भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

वर्ष महिलातर्फको वर्ष उत्कृष्ट खेलाडीतर्फ भलिबलबाट अरुणा शाही, क्रिकेटबाट मनिषा उपाध्याय र करातेबाट सरगम कुमाल छनोट भएकी छन् । वर्ष उदीयमान खेलाडीतर्फ टेनिसबाट दर्शिल श्रेष्ठ, क्रिकेटबाट श्रृष्टि जैसी र बक्सिङबाट शाहिल लिम्बु छनोट भएका छन् ।

मञ्चका महासचिव पौडेलका अनुसार उत्कृष्ट प्रशिक्षकमा क्रिकेटबाट रिजन प्रजू, टेक्वान्दोबाट रेखमाया गुरुङ र टेनिसबाट निरज थापा मनोनयनमा परेका छन् ।

मञ्चले ७ वटा विधामा पुरस्कार वितरण गर्दै आइरहेकोमा प्रारम्भिक चरणमा ४ विधाको मात्रै मनोनयन सार्वजनिक गरिएको मञ्चका पूर्वअध्यक्ष तथा खेलाडी छनोट उपसमितिका संयोजक विनोद लामिछानेले जानकारी दिए ।
लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ३ विधा भने पछि सार्वजनिक गरिनेछ ।
लाइफटाइम अचिभमेन्ट अवार्ड विजेताले चाँदीको करुवा, ट्रफी र ताम्रपत्र, वर्ष खलाडी (पुरुष, महिला)ले इलेक्ट्रिक स्कुटर र ट्रफी पाउने मूल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए ।

सहसंयाेजक सुरज श्रेष्ठका अनुसार वर्ष उदीयमान खेलाडी, प्रशिक्षक, खेलपत्रकार र खेलकुद संघले समान ३५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । उत्कृष्ट ३ मनोनयन सूचीमा परेका खेलाडीले पनि ट्रफी पाउनेछन् ।