जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरको नगरसभा अवरुद्ध , एमालेले च्यातो बजेट पुस्तिका

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरुको सहभागिता नहुने बताइन् । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको छ ।

मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र अन्तिम रातो किताब नभएको बताएका थिए । ‘महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो,’ मेयर आचार्यले भनेका थिए ।

यस विषयमा उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्नेमा आफूसमेत अनभिज्ञ रहेको बताइन् । उनले रातो किताब किन भनियो भन्दै प्रश्नसमेत गरेकी थिइन् ।

एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । मेयरको जवाफबाट चित्त नबुझेपछि एमाले जनप्रतिनिधिहरु पोखरा सभागृहबाहिर नाराबाजीमा उत्रिएका छन् । उनीहरुको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगरसभा स्थगित भएको घोषणा गरेका छन् ।