जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय तह निर्वाचनमा पोखराको मेयर गुमाएको नेकपा एमालेले नगर कार्यपालिका सदस्य निर्वाचनमा भने आठै जना सदस्य जितेको छ । बिहीबार भएको मतदानमा महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य एमालेले जितेको हो ।

महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिर परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन् । उनीहरु सबै जनाले समान ८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवारको ८१ मतसम्म आएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जनाएको छ।

यसतै, दलित वा अल्पसंख्यकमा नेकपा एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मला दियाली निर्वाचित भए । तुलाचन र घिमिरेले समान ८६ मत ल्याउँदा दियालीे ८७ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी समाजवादीका उम्मेदवारको ८१ मत थियो ।

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कार्यपालिकाका ४३ मध्ये ८ जना निर्वाचित हुन् र बाँकी ३५ पदेन सदस्य हुने छन् ।

महानगरमा एमालेले ८६, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट गरी ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए । योसँगै पोखरा महानगरपालिकाको कार्यपालिकामा एमालेका १८ र नेपाली कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना भएका छन् ।