जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा न्युरोडको अर्बौंको जग्गा पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला

जन्मभुमि खबर ,
पोखरा

जिल्ला अदालत कास्कीले पोखरा न्युरोडको ५ रोपनीभन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले जग्गामा समितिको दाबी पुग्ने फैसला गरेका हुन् ।

हाल चल्तीमा रहेको जग्गाको भाउ अनुसार अर्बौँ रुपैयाँ पर्ने सो जग्गामा पोखरा महानगरपालिका वडा नम्बर ४ का कोइराला परिवारको दाबी रहँदै आएको थियो ।

राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको जग्गा सार्वजनिक र सरकारी कायम गरिपाऊ भनि नागरिक समाजका अगुवाहरू विष्णुप्रसाद बराल, परशुराम बराल र अधिवक्ता डिल्लीराम अधिकारीले कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

३२ सालमा पोखरा नगर योजना कार्यान्वयन समितिले करुणानिधि र खेमलाल सहित ४१ जनाको जग्गा लिइ पोखरा न्युरोड जग्गा विस्तार तथा विकास गरेको थियो । त्यतिबेला उनीहरुको जमिनमात्रै समितिको नाममा आउन बाँकी थियो ।

कोइरालाले आफूहरुको नाममा आउनुपर्ने जमिन ३८ सालमै अरुलाई बेचेका थिए । बाँकी जमिन पनि आफूहरुकै हुनुपर्ने दाबी कोइरालाहरुको थियो ।

अंशबन्डाका लागि जग्गा फुकुवा गरिपाऊँ भनी कोइराला परिवारले सुरुमा हालेको मुद्दा सर्वाेच्चसम्म पुगेको थियो । सर्वाेच्चले हकलाग्नेसम्मको फुकुवा भनेपछि फुकुवाका लागि मुद्दा उत्पत्ति भएको जिल्ला अदालतमै मुद्दा आएको थियो ।