जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा १७ औं असारे रोपाईं महोत्सव सम्पन्न भएको छ।

विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर बुधबार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ १७ औं असारे रोपाईं महोत्सव भएको हो।

पोखराको माईस्थानमा १० रोपनी खेतमा भएको रोपाईं महोत्सवमा किसानहरुसहित पर्यटन व्यवसायीले उत्साहीत भएर मनाएका थिए । महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता समेत आयोजना गरिएको थियो। महोत्सवमा विदेशी पर्यटकले पनि नेपाली पर्यटकसँगै रमाइलो गर्दै हिलो छ्यापाछ्याप गरेका थिए।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना शुरू भएको थियो।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा रोपाईं महोत्सवका संयोजक पोमनारायण श्रेष्ठले नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको बताए ।नले शहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी भएको बताए। संयोजक श्रेष्ठले महोत्सवमा करिव २ सय विदेशीहरुको सहभागिता रहेको बताए।

स्थानीय किसान विष्णुप्रसाद तिमिल्सिनाले धान रोपाईं शुरु भए पनि सरकारले किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न नसकेको बताए। उनले सरकारले समयमा नै किसानलाई मल र बीउ दिन नसक्दा किसानमा निरासा छाएको बताए।

महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्नेसहित दौड प्रतियोगिता भएका थिए।

पछिल्लो समय बढ्दो प्लटिङसँगै कंक्रिट शहरका कारण महोत्सव स्थलसमेत पाउन मुस्किल हुन थालेको छ । अधिकांश मानिस हिलोमा छिरेर टिकटिक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे।

महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतहरुमा किसानले निरन्तर काम गरिरहेका थिए।

हेर्नुहोस् तस्बिरहरू