जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पामेहुँदै घाँटीछिना र पर्वतको दोबिल्लासम्म सुरुङ मार्ग अध्ययनका लागि स्वीकृति प्रदान

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको पामेहुँदै घाँटीछिना र पर्वतको दोबिल्लासम्म सुरुङ मार्ग अध्ययनका लागि स्वीकृति प्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले पोखराको पामेहुँदै पर्वतको दोबिल्ला सुरुङमार्गको अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको हो । सुरुङमार्ग आयोजनाको अध्ययनको काम आगामी आर्थिक वर्षबाटै सुरु हुनेछ ।

यो सुरुङमार्गले गण्डकी प्रदेशकको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दीलाई छोटो दुरीमा जोड्ने छ । पोखरा महानगरपालिकास्थित पामेदेखि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लासम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिने भएको हो । सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेर  काम अघि बढाउन पत्राचार समेत गरिसकेको मन्त्रालयले जानकारी दिएको छ । जेठ २६ गतेको सचिवस्तरको बैठकले विभागलाई सुरुङ मार्गको अध्ययनको लागि स्वीकृति प्रदान गरेको हो ।

सुरुङमार्ग बनेपछि करिब १० देखि १२ किलोमिटरमा पामेदेखि दोबिल्ला जोडिने छ । पोखराबाट करिब ६० किमीको दुरीमा रहेको पर्वत जान अहिले करिब डेड घण्टा लाग्दछ भने सुरुङ मार्ग बनेपछि आधा घण्टामै पुगिने अनुमान छ ।

हेम्जा नयाँपुल सुरुङ मार्ग पनि अध्ययनहुँदै

पोखराको हेम्जाहुँदै नयाँपुलसम्म पनि सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययनको काम पनि अगाडि बढेको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ मा उक्त सुरुङ मार्ग निर्माणको लागि अध्ययन अगाडि बढाएको थियो । हेम्जाको घट्टेकुलोदेखि नयाँपुलसम्मको न्यूनतम दुरी न्युनतम ७.०५ किमीदेखि अधिकतम ८.३८ किमी हुनेछ । सुरुङ मार्ग निर्माण हुने क्षेत्रको स्थलगत अध्ययन सकिएर डिपिआरको चरणमा पुगेको छ । उक्त सुरुङ मार्ग मध्य पहाडी लोकमार्गमा पर्दछ ।