जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिलो पटक पोखरामा मिर्गौला प्रत्यारोपण गरिएकी बिरामी डिस्चार्ज

जन्मभुमि खबर ,
पोखरा ।

पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएकी महिला डिस्चार्ज भएकी छन्। ९ असारमा उनको मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि एक साता अस्पतालको आइसीयुमा औषधोपचार गरी उनलाई अस्पतालले बुधबार घर पठाएको हो ।

मिर्गौला प्रत्यारोपणमा संलग्न विशेषज्ञ चिकित्सकमध्येका एक प्रकाश क्षेत्रीका अनुसार अब ती बिरामी घरमै बसेर औषधि खाए पुग्ने भएकाले घर पठाइएको हो। ‘मिर्गौलादातालाई तेस्रो दिनमै घर पठाएका थियौं,’ उनले भने, ‘बिरामी पनि अब घरमै आराम गर्दै औषधि खाइरहे हुने भएकाले घर पठायौं।’ मिर्गौला प्रत्यारोपण गरिएका बिरामीले जीवनभरि नै औषधि सेवन गर्नुपर्छ ।

कास्कीकै ५० वर्षीया महिलालाई उनका ५१ वर्षे श्रीमानले मिर्गौला दान गरेका हुन्। गण्डकी प्रदेशमै पहिलोपटक क्षेत्रीय अस्पतालमा ती महिलामा मिर्गौला प्रत्यारोपण सफल भएको हो। पहिलोपटक क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका विशेषज्ञले सघाएका थिए ।

उक्त केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाई, डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको थियो। अब क्षेत्रीय अस्पतालले प्रत्येक महिनामा २ जना बिरामीमा मिर्गौला प्रत्यारोपण गर्ने योजना बनाएको छ। त्यसका लागि भक्तपुरस्थित केन्द्रका विशेषज्ञ पोखरा आउनेछन्। प्रत्यारोपणका लागि केही जनशक्ति क्षेत्रीय अस्पतालमा छन् भने केही तालिम लिँदैछन्। अबको १ वर्षपछि भने क्षेत्रीय अस्पताल मिर्गौला प्रत्यारोपणका जनशक्तिका लागि आत्मनिर्भर हुनेछ।

क्षेत्रीय अस्पतालमा नवनिर्मित भवनको अप्रेसन थियटरमै मिर्गौला प्रत्यारोपण गरिएको थियो। आगामी दिनमा पनि सोही थियटर प्रयोगमा आउने छ। मिर्गौला प्रत्यारोपण गर्नुअघि अंग प्रत्यारोपण स्वीकृति समितिले नाता प्रमाणितलगायत र अंग दान गर्नसक्ने स्वीकृति प्रदान गरेको छ। मिर्गौला प्रत्यारोपणका लागि यस्तो समिति क्षेत्रीय अस्पतालमा बनिसकेको छ।

नेपालमा मिर्गौला दान परिवारका सदस्यलेमात्रै गर्न सक्ने कानुनी व्यवस्था छ। गण्डकी प्रदेशभरि सयौं बिरामीको मिर्गौला फेल भई क्षेत्रीय लगायत अस्पतालमा डायलाइसिस गराइरहेका छन्। तिनीहरुको दीर्घकालीन उपचार भनेको मिर्गौला प्रत्यारोपण हो।