जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुबईबाट काठमाडौं भन्सार छलेर सुन ल्याएको आरोपमा चिनियाँ भारतीयसहित सातजना पक्राउ

अवैधरूपमा सुन तस्करी गरेको आरोपमा काठमाडौंबाट चिनियाँ भारतीयसहित सातजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा भन्सार छलेर सुन ल्याउन लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । सोही सूचनाका आधारमा उनीहरूले लगाएको कपडामा सुनको धूलो बनाएर ल्याएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार निगरानी राख्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर सुरेशबहादुर शाही र सन्दीप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अन्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाईछिपाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट ८८६ ग्राम सुन बरामद भएको छ । सुन तस्करीमा अन्यको पनि संलग्नता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो ।

शाही र चन्दसँगै अन्य पक्राउ पर्नेहरूमा बौद्ध बस्दै आएकी २२ वर्षीया निर्मला घलान, बुढानीलकण्ठ बस्दै आएका राहुल भनिने वरुण भक्त माथेमा, बौद्ध बस्दै आएका चिनियाँ नागरिक लोप्साङ ग्लाल्सेन, माछापोखरी बस्दै आएका युवराज भुसाल र भारत नयाँ दिल्ली घर भई ललितपुर बागडोल बस्दै आएका अमन राजपूत छन् ।