जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवनमा भेटियो नयाँ प्रजातिको चरा

चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् संघ वाग्मती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११, पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।

६ दिनअघि वर्ड एजुकेसन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा. हेमसागर बरालसहितको विज्ञ समूह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो ।
बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोन्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङकङलगायत देशमा पाइन्छ ।

फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन् ।

यससँगै नेपालमा चराको प्रजाति संख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ । रासस