जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सरकारको बजेट ३५ अर्ब ९० करोड

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार नयाँ बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । यो बजेट चालु आव भन्दा करिब छ अर्ब बढी हो । सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कुल बजेटमध्ये चालु खर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार, पुँजीगततर्फ २२ अर्ब १४ करोड एक लाख ४६ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए ।

यसैगरी सञ्चित कोषमाथि एक करोड ८८ लाख रुपैयाँ व्ययभार पर्ने अनुमान गरिएको छ । अर्थमन्त्री बरालले वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरण दुई अर्ब ११ करोड १० लाख छुट्याइएको बताए । बजेटमध्ये संघ सरकारले दिएको वित्तीय समानीकरण अनुदान सात अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँट नौ अर्ब २३ करोड, ससर्त छ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरिएको अर्थमन्त्री बरालले घोषणा गरे ।

चालु आवमा दुई अर्ब ७१ करोड नगद मौज्दात रहने र दुई अर्ब ऋण लिइने मन्त्री बरालले बताए । सरकारले एक अर्ब आन्तरिक ऋण र एक अर्ब संघ सरकारबाट ऋण लिइने उनले बताए । सरकारले आन्तरिक राजस्व पाँच अर्ब नौ करोड, रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने लक्ष्य राखेको छ । बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकीमा १२ वटा मन्त्रालय छन् । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारले ल्याउन लागेको यो बजेट दोस्रो पटक हो ।