जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘गण्डकी प्रज्ञा उत्सव’ सुरु

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबारदेखि ‘गण्डकी प्रज्ञा उत्सव’ सुरु भएको छ । ३ दिनसम्म चल्ने सो उत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश लोक संगीतको खानी भएकोले यसको जगेर्ना गर्नुपर्ने बताए । सो अवसरमा उनले प्रतिष्ठानको कार्यालय परिसरमा निर्माण गरिएको पुस्ताकालय र लोकबाजा संग्राहलयको उद्घाटन समेत गरे ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको समारोहमा विम्ब कवि रमेश श्रेष्ठ, प्रतिष्ठान उपकुलपति गोरे गुरुङ, कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ बोलेका थिए ।

पहिलो दिन आर्ट कार्यशाला आयोजना गरियो । कार्यशालामा वरिष्ठ कलाकार गोपाल श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ सहितका गण्डकी प्रदेशका बिभिन्न जिल्लाका २० जना कलाकारको सहभागिता थियो ।
शुक्रबार गजल, कविता, मुक्तक र लघुकथा वाचन तथा धनिरामको गोरु नाटक मञ्चन हुनेछ । यस कार्यको लागि पोखरेली यूवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघु कथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरसँग सहकार्य हुनेछ ।

रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघु कथा समेत सुन्न पाइनेछ । नाटक दिउँसो ४ बजे मञ्चन हुनेछ । केदारनाथ पौडेलले लेखेको नाटक ‘धनिरामका गोरु’ मा कपिल शर्माको निर्देशन छ । जसमा राजेन्द्र अधिकारी, ज्योति हमाल, बिभु भुषाल, प्राञ्जल, नीलम तामाङ, आकाश दाहाल, अनिल तिमिल्सिना, विजय अधिकारी, विनोद पौडेल, विकास पौडल, प्रमिशा शिलवाल लगायतको अभिनय हेर्न पाइनेछ ।

अन्तिम दिन विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । सो दिन गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कलाकार यादवचन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ । यसका अलावा १४ जना अनुसन्धानकर्तारुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम छ ।

गण्डकी प्रज्ञा उत्सवमा हुने सांस्कृतिक कार्यक्रममा कलाकार प्राज्ञ हरिदेवी कोइराला, राजु परियार, राजु गुरुङ, पार्वती जिसी, कर्णदास, बाबा राणा, रामभक्त जोजिजु र हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुति रहनेछ । यसैबीच, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीको तर्फबाट विज्ञान तथा प्रविधि प्रदर्शन समेत गरिने प्रतिष्ठानले जनाएको छ ।