जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

किशोरीलाई करणी प्रयास गरेको आरोपमा मल्ल फर्निचर पोखराका सञ्चालक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।

कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्ललाई किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।

पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।

त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाई(फकाइ गर्दै आएका थिए ।

९ महिनापछि उजुरी

पीडित किशोरीले अति भएपछि आफूले उजुरी गरेको प्रतिक्रिया दिएकी छन् । पीडित किशोरीले ९ महिनापछि उजुरी दिएकी हुन् ।

शुरुमा घटना भएपछि मल्लले आफ्नो परिवार र व्यवसाय भएको भन्दै आफ्नो जीवन बर्बाद नबनाइदिन आग्रह गरेकोले किशोरी प्रहरीकहाँ नगएको सुनाइन् । अब सुध्रने र पिछा नगर्ने सहमतिमा उनले क्षमा दिएपनि केही समयपछि मल्लले पटक पटक फोनमा, म्यासेजमा विभिन्न किसिमका कुरा गर्ने, भेट्न बोलाउने र आफूमाथिको व्यवहार परिवर्तन नगरेको, सम्झाइ(बुझाइ गर्दा पनि नमानेपछि अति भएर कानूनी बाटो रोजेको पीडित किशोरीले बताइन् ।