जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौँ र पोखराका मेयर बिचभेट, पोखरामा गर्ने सम्मेलनबारे छलफल

जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहबिच भेट भएको छ। भेटमा बजेट निर्माण, राजश्व सङ्कलन तथा अन्य समसामयिक विषयमा छलफल भएको पोखरा महानगरका प्रमुख आचार्यले जानकारी दिए ।

प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरूको भेलामा सहभागी हुन दिएको निम्तो शाहले स्वीकार गरेका छन्। साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुँदै छ। प्रमुख आचार्यका अनुसार अहिलेसम्म चार वटा महानगरका प्रमुखले निम्तो स्वीकार गरिसकेका छन्। अब, एउटा महानगरमा निम्तो गर्न बाँकी छ ।

पोखरामा आयोजना गरिने भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबिचको अनुभव आदानप्रदान र विविध योजनाका विषयमा छलफल हुने प्रमुख आचार्यले बताए।

उनले भने,‘हामीले साउनको पहिलो हप्ता पोखरामा ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरेका छौँ। यसको मिति भने तय भइसकेको छैन। एउटा बाहेक सबै महानगरमा हामीले निम्तो पठाइसकेका छौँ। सबै आउने निश्चित भइसकेको छ।’

काठमाडौँका प्रमुख शाहलाई पनि निम्तो दिएको उनले बताए। यो भेलाले महानगर बिच अनुभव आदानप्रदानमा सहयोग पुग्ने उनले बताए।

प्रमुख आचार्यले काठमाडौँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसंग पनि भेटवार्ता गरेका छन्। उक्त अवसरमा आविष्कार केन्द्रमा आविष्कार भएका सामग्रीहरू पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको मेयर आचार्यले बताए।