जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका पोखरामा एक हप्ते सचेतना अभियान चलाइने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा लागु औषध विरुद्ध एक हप्ते सचेतना अभियान चलाइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा एक हप्ते कार्यक्रम गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

उनका अनुसार असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न सचेतना कार्यक्रम गरिने छ । थापाका अनुसार असार ६ गते पोखरा सभागृहमा लागु औषध सम्बन्धी कार्यक्रम हुनका साथै उक्त दिन विभिन्न ठाउँबाट सचेतना रयाली समेत निकालिने छ । असार ६ गतेको कार्यक्रममा पूर्व लागु औषध सेवन कर्ता रयापर आशिष राना लाहुरेले प्रस्तुति दिनेछन् ।

करिब १० वर्ष लागु औषध सेवन गरेर अहिले छाडेका राना सप्ताहव्यापी यी सबै कार्यक्रममा सहभागी हुनेछन् । उनी लागु पदार्थ सेवनको आरोपमा ५६ दिन जेल बसेर छुटेका हुन भने अहिले उनले लागु औषध सेवन गर्न छाडेका छन् । पत्रकार सम्मेलनमा प्रहरीको सकारात्मक व्यवहार लगायत समाज, घर परिवार र आफन्तको सकारात्मक परामर्शका कारण आफू लतबाट उम्किन सफल भएको बताए । अब कहिल्यै लतमा नफस्ने अठोट पनि उनले गरेका छन् । ‘लागु औषध सेवन नगर्दा २ महिना सम्म शारिरीक रुपमा केही असजिलो भएको थियो,’ उनले भने,‘ कहिल्यै सेवन नर्गनका लागि यो गलतबाटो हो, यसले जिन्दगी बिर्गाछ भनेर सधै सचेत हुनु नै पर्दछ, यसमा म, दृढ  छु । ’

एसपी थापाका अनुसार सप्ताहाव्यापी कार्यक्रममा असार ७ गते कास्की जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरुसँग अन्तक्र्रिया, ८ गते औषधी विक्रेताहरुसँग छलफल, ९ गते विभिन्न स्कुल र कलेजहरुमा विद्यार्थीहरुसँग सचेचना छलफल, १० गते सञ्चार माध्यमहरुमा विज्ञहरुसँग छलफल, ११ गते समुदायमा भेटघाट र १२ गते अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा पोखरामा सइकल रयाली गरी समापन गरिने छ ।

‘अहिले पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लागु औषध सम्बन्धी मुद्दाका अधिकांश कारोबारी छन्,’ एसपी थापाले भने,‘ लागु औषध कारोबारीलाई हदैसम्म कारबाही र अञ्जानमा फसेकालाई परामर्शबाट सुधार गर्ने प्रयास गरिएको छ, आशिष राना पनि यसको उदाहरण हुनुहुन्छ ।’

कार्यक्रममा छिनेडाँडामा रहेको नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेज, रिकभरी नेपाल, गोल्डेन आइटिभीले सहकार्य गरेका छन् । पत्रकार सम्मेलनमा होटल मेनेजमेन्ट कलेजका प्रकाश रेग्मी, रिकभरी नेपालका विकास बरुवाल र गोल्डेन आइटिभीका अमृत भट्टराईले लागु औषधको सेवन र यसले पार्ने नकारात्मक प्रभाव बारे बोलेका थिए।