जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विमान दुर्घटनाको प्रमुख कारण खराब मौसम

खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।संसद्को अन्तर्राष्ट्रिय समितिको आज सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण (राईट टर्न) गर्नुपर्ने जहाजले (लेफ्ट टर्न) गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।

घटनाको जाँच–बुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यरतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो । घटनास्थल जोमसोम विमानस्थलबाट आठ नटिकल माइल दुरीमा पर्छ । त्यो विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो ।

विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ । पोखराबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतवार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।