जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान सुचारु

शंकास्पद वस्तु रहेको आशंकामा केही समय बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गरिएको छ ।

विमानस्थलको सुरक्षामा खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गरिएको प्रहरीले जनाएको छ।

कुनै पनि शंकास्पद वस्तु नभेटिएकोले उडान सुचारू भइसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

आज बिहान १० बजेतिर विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए।

त्यस्तो फोन आएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेर आन्तरिक उडान स्थगित गरिएको थियो।