जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आचारसंहिता विपरीत राजनीतिक दलहरूले प्रयोग गरेका प्रचार सामग्री नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरूले प्रयोग गरेका प्रचार सामग्री नियन्त्रणमा लिएको छ । कार्यालयले मंगलबार अनुगमन गर्दै आचारसंहिता उल्लंघन गर्दै प्रचारमा प्रयोग गरिएका सामग्री बरामद गरिएको निर्वाचन कार्यालयका अनुगमन अधिकृत निल पनेरु बताए ।

टोलीमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख होमनाथ पराजुली अनुगमन समितिको सदस्य सचिव, निर्वाचन कार्यालयबाट अनुगमन हेर्ने अधिकृत निल पनेरुसहित सुरक्षा निकायका प्रतिनिधिहरु थिए । उनीहरुले पोखराको केही वडामा पुगेको टोलीले चर्को आवाजमा बजाउँदै हिडेको १५ वटा माईक बरामद गरेको हो ।

विभिन्न राजनैतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित माइकिङ गरेकाले प्रचार प्रसारमा प्रयोग भएको सामग्री नियन्त्रणमा लिएको उनको भना छ । उनका अनुसार महानगरमा संयुक्त र जिल्लाका पालिकाहरुमा सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले अनुगमन गर्नेछ । ‘हामीले कुनै पनि हालतमा अब आचारसंहिता उल्लंघन गर्न दिने छैनौं यो कडाइका साथ पालना हुनेछ’ उनले भने ।

पोखराका विभिन्न स्थानबाट चर्को आवाजमा माईकिङ गरेको भन्दै विभिन्न पार्टीले गाडीमा प्रयोग गरेको सामाग्री नियन्त्रणमा लिएको हो । जसमा विभिन्न वडाबाट नेपाली कांग्रेसले ६, राप्रपाले ४, नेकपा एमालेले ३ र विवेकशील साझाले २ स्थानमा प्रयोग गरेको माईक बरामद गरेको अनुगमन अधिकृत पनेरुले जानकारी दिए । बरामद गरिएका सामग्रीहरुलाई प्रक्रियामा लगेर बुधबारदेखि अनुगमनलाई अझ तीब्र बनाउने उनले बताए । ‘निर्वाचन आचारसंहिता पालना गराउने सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कटिबद्ध छ,’ उनले भने, ‘अनुगमनका विषयमा समितिको बैठक बसेर भोलिका दिनका लागि योजना बनाएर अघि बढ्छौं ।’