जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप हुँदा उम्मेदवारसहित ६ जना घाइते

पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा उम्मेदवारसहित ६ जना घाइते भएका छन्। झडपमा हुप्केकोट गाउँपालिका अध्यक्षकी कांग्रेस उम्मेदवार लक्ष्मीदेवी पाण्डे घाइते भएकी हुन्।

अध्यक्षकी उम्मेदवार पाण्डे र उपाध्यक्षका उम्मेदवार पूर्णसिंह रानामाथि एमालेका कार्यकर्ताले मंगलबार आक्रमण गरेको कांग्रेसले बताएको छ।

निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेकी पाण्डेमाथि ५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसले दावी गरेको छ।

झडप हुँदा कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन्। उनीहरूलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।
यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सिसा फुटेको छ।

चुनाव प्रचार सकेर फर्कने क्रममा आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरी लगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ। एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको दावी गरेको छ।