जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की लेवाडे दुर्घटना: फरार चालक एन्जिल बम मल्ल काठमाण्डौबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

बाबु छोरीको ज्यान जाने गरी कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा भएको सवारी दुर्घटना पश्चात भागेका कार चालक काठमाण्डौबाट पक्राउ परेका छन्।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेर पोखरा ल्याएको छ।

उनले चलाएको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सबिना पुनको मृत्यु भएको थियो। छोरी सविनाको घटनास्थलमा नै र बाबु जित बहादुर पुनको पोखराको मेट्रोसिटि हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घतानापश्चात चालक मल्ल भागेपछि पिडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्की अगाडी शान्तिपूर्ण प्रदर्शन गरेका थिए। शान्तिपूर्ण प्रदर्शनलाई प्रहरीले बेवास्ता गरेको भन्दै आक्रोशित पिडित पक्षले केही बेर पोखरा बागलुङ्ग राजमार्ग अवरुद्ध गरेका थिए।

राजमार्ग नै वृद्ध गरिए पछि जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले पिडित पक्षलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बोलाएर बेपत्ता ड्राईभर खोजीका बारेमा गरिएका अनुसन्धानका विवरण सुनाउदै छिट्टै पक्राउ गरिने बिस्वास दिलाएका थिए। त्यसपछि प्रहरीले फरार मल्लको फोटो सामाजिक संजालमा राखेर खोजिका लागि अनुरोध गरेको थियो।