जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज विश्व रेडक्रस दिवस

आज मे ८ अर्थात वैशाख २५ विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनले गरेका योगदानको कदर गर्दै विविध कार्यक्रमका साथ विश्वभर मनाइने गरिन्छ । रेडक्रसका संस्थापक हेनरीले विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई उच्च सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनले आधिकारिक मान्यता दिएपश्चात सो दिवस विश्वभर मनाइन थालिएको हो । नेपालमा भने विसं २०२० सालमा रेडक्रसको स्थापना भएको हो । नेपालका ७७ वटै जिल्लामा रेडक्रसका शाखा, एक हजार बढी उपशाखा र ११ लाख बढी स्वयंसेवक आवद्ध छन् । तिनै स्वयंसेवकमार्फत रेडक्रसले आफ्नो सेवा दिँदै आएको छ । रेडक्रसले मानवीय सेवाका विविध आयामहरुमा काम गर्दै आए पनि यसको मुख्य लक्ष्यचाहिँ मानव उद्धार नै हो । मानव तथा प्रकृतिबाट घटित हरेक विपत्तिमा पीडितको उद्धार तथा जीवन रक्षा गर्नु रेडक्रसको मूल धर्म हो ।

अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई न्यूनीकरण गर्ने महान् उद्देश्यले स्थापना भएको रेडक्रसमा विश्वभरका दुई करोड मानिस स्वयंसेवकका रुपमा कार्यरत छन् । यस संस्थाले नेपालमा महाभूकम्पको विपत्तिमा होस् वा अन्य दैवीप्रकोपमा नै किन नहोस् अग्रपंक्तिमा रहेर मानव कल्याणको काम गर्दै आएको छ । सन् १८६३ देखि क्रियाशील रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्तिजस्ता परिस्थितिमा प्रभावकारीरूपमा काम गर्दै आएको छ । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता गरी रेडक्रसका सात सिद्धान्त छन् । यही आधारभूत सात सिद्धान्तमा आधारित रहेर यो संस्थाले विश्वमा मानवीय सेवा र परोपकारमा आफूलाई समर्पित गर्दै आएको छ । रेडक्रससँग कुनै जाति, धर्म, राजनीति, वर्ग, लिङ्ग, सम्प्रदायजस्ता मानवजातिलाई विभाजन गर्ने तŒवसँग कुने सरोकार छैन । र, यस संस्थाले कसैप्रति पूर्वाग्रह, पक्षपात, भेदभाव र विभेद पनि गर्दैन । मानवीय शक्ति र स्रोतको परिचालन गरी मानवीय पीडालाई कम गर्नु रेडक्रसको कर्म र धर्म मानिन्छ ।

रेडक्रसका जन्मदाता हेनरी ड्युना सन् १८२८ मे ८ तारिखमा स्वीट्जरल्याण्डको जेनेभा सहरमा जन्मिएका थिए । सन् १८४९ मा बैंकमा काम सुरू गरेका ड्युनाले व्यापारको सिलसिलामा सन् १८५९ जुनमा फ्रान्स जाँदा फ्रान्स, इटली र अस्ट्रेलियाबीचमा ठूलो युद्ध भएको थियो । सो युद्धमा दस हजार सेना मारिएका थिए भने ४० हजार बढी घाइते भएका थिए । धेरै घाइतेहरु छट्पटाइरहेका थिए । दुःख र कारुणिक चित्कार सुनेर ड्युनालाई मर्माहत बनाएपछि घाइते सिपाहीहरुलाई सेवा गर्ने र प्राथमिक उपचार गर्ने सोच बनाए । त्यस बेला धेरै घाइतेको ज्यान बचाउन पनि सफल भए । उनले एकपछि अर्को मानवीयताको काम गर्दै गएपछि सन् १९०१ मा उनलाई शान्तिका लागि पहिलोपटक नोबेल पुरस्कार प्रदान गरिएको थियो । अहिले तिनै संस्थापक ड्युनालाई विश्वभर उच्च श्रद्धाका साथ स्मरण गर्ने गरिन्छ । नेपालमा रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, आँखा अस्पताललगायतका आकस्मिक सेवाहरु प्रदान गर्नुका साथै विकास र पुनःनिर्माणका काममा समेत विविध काम गरिसकेको छ । यस विशेष दिवसमा माववीय सेवामा समर्पित सबै रेडक्रसकर्मीहरु धन्यवादका पात्र भएका छन् । मानव सेवाको अभियानमा जोडिएका सबैमा रेडक्रस दिवसको हार्दिक शुभकामना !