जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विमानस्थलका कर्मचारीनै सुन तस्करीमा संलग्न, दुई किलो ३३२ ग्राम सुन सहित ५ जना पक्राउ

 

दुबईबाट बिहीबार अवैधरुपमा काठमाडौं पुगेको दुई किलो ३३२ ग्राम सुनसहित पाँचजना पक्राउ परेका छन् । सुन तस्करी र ओसारपोसारमा सरसफाईमा संलग्न कर्मचारी संलग्न रहेको पाइएको छ ।

प्रहरीका अनुसार दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिमार्फत सरसफाई गर्न ड्यूटीमा खटिएका २८ वर्षीय भीम कुमार माबोले जहाजको शौचालयभित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थान पुर्याएको खुलेको छ ।

बाहिर ल्याइसकेपछि माबोसँगै काम गर्ने २७ वर्षीय सुमन तामाङलाई बोलाई फोहोरसँगै रहेको सुनको बिस्कुटहरु बाँडी आ–आफ्नो मनि पर्सभित्र लुकाएका थिए । सोही पर्स लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्किने क्रममा उनीहरुका सामान मेसिनबाट जाँच गर्ने क्रममा भीम कुमार माबोले बोकी आएको मनी पर्सभित्र टेपले बेरिएको सुनका १० थान बिस्कुट फेला परेको प्रहरीले जनाएको छ ।

यसबाहेक सुमन तामाङले बोकी आएको मनी पर्सभित्र पनि टेपले बेरिएको १० थान सुनको बिस्कुट फेला परेको हो ।

उनीहरुलाई सोधपुछ गर्दा सुन उदयपुर लिम्चुङबुङ गाउँपालिका– २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिमार्फत विमानभित्र सरसफाई गर्नेे भनी सुपरभाईजरको रुपमा ड्युटीमा खटिएका सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरीसमेतको संलग्नता खुलेको हो । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।