जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भरतपुर महानगरपालिकाका ५० जना कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा ।

चितवन।                                                                         भरतपुर महानगरपालिकाको मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका छन्।  स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेता-कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।