जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालिका बलात्कारको आरोपित सुन्दरकुमार श्रेष्ठले पाए सफाइ

जन्मभुमि खबर ,
पोखरा ।

बालिका बलात्कारको आरोपमा मुद्दा खेपेका पर्यटनकर्मी सुन्दरकुमार श्रेष्ठले सफाइ पाएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलाशले बुधबार उनलाई सफाइ दिएको हो । सुवेदीको इजलाशले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

बालिका बलात्कारको आरोपमा २०७५ चैत ८ गते पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि त्यहि महिनाको २९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा दायर भएको थियो । उनी २०७६ वैशाखमा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

श्रेष्ठलाई १० देखि १२ वर्षसम्म कैद र मनासिब बमोजिम क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको थियो । १६ वर्ष वा सोभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भए मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ३ (घ) अनुसार १० देखि १२ वर्षसम्म कैद मागदाबी गरिएको हो । फैसलामा वारदातस्थल यकिन हुन नसकेको, पीडितले जाहेरी र बयानमा बलात्कार भएको भनिएको समय पटक–पटक फेरेको उल्लेख छ ।

जाहेरीका अनुसार वारदात हुँदाको बखत ती बालिकाको उमेर १७ वर्ष ६ महिना २५ दिन थियो । १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार ठहर्ने कानुनी प्रावधान छ ।

चितवन घर भएकी ती बालिका सानै उमेरदेखि लेकसाइडको कान्तिपुर होटल नजिकैको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएकी थिइन् । २०७५ भदौदेखि विभिन्न लोभ देखाएर र श्रेष्ठले बलात्कार गरेको आरोपसहित जाहेरी दर्ता भएको थियो ।

उनै बालिकामाथि यौन दुव्र्यवहारको आरोप लागेका सुवास सुवेदीले पनि सफाइ पाएका छन् । उनी पनि ३ लाख धरौटीमा छुटेका छन् । श्रेष्ठ र सुवेदी एकै दिन पक्राउ परेका थिए । सुवेदीको मुद्दामा मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (३) अनुसार ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको मागदाबी थियो । सामान्यतया २ वर्षभित्रै मुद्दा किनारा लाग्नुपर्नेमा यो मुद्दामा २६ पटकसम्म पेसी सरेको थियो ।