जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कुकुर मारेको आरोपमा सुदिप पक्राउ 

जन्मभुमि खबर ,
पाेखरा ।

पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१९का २३ वर्षीय सुदिप परियारलाई कुकुरलाई चरम यातना दिएर मारेको आरोपमा पक्राउ गरेको हो ।

परियारले पोखरा–१६ जोगिमणी मार्ग स्थित सार्वजनिक स्थानमा कुकुरको घाँटीमा प्लास्टिकको डोरीले पासो लगाई रुखमा झुण्ड्याएर मारेर सेती नदीको खोँचमा फालेको आरोपमा प्रहरीले परियारलाई पशु सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको हो।

झुण्ड्याएर मार्ने क्रममा भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा समेत उनको मोबाइल र फेसबुकमा समेत उक्त भिडिओ भेटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले बताए।

पक्राउ परेको परियारलाई जिल्ला अदालत कास्कीबाट पशुपक्षी सम्बन्धी कसुरमा ९ दिनका लागि म्याद थपको अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको डिएसपी तिवारीले बताए ।