जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पार्टीले आफूसँग सल्लाह नै नलिई उपमेयर उठाएको भन्दै मञ्जुदेवी गुरूङले गरिन उम्मेदवार अस्वीकार

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले फेरि उपमेयरको उम्मेदवार बन्न अस्वीकार गरेकी छिन्। नेकपा एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले पोखराको उपमेयरमा फेरि गुरूङलाई उठाउने निर्णय गरेको थियो। पार्टीले आफूसँग सल्लाह नै नलिई उपमेयर उठाएको भन्दै उनले उम्मेदवार नबन्ने बताएकी हुन्।

‘मलाई सोध्दै नसोधी उपमेयरमा उठाउने भनेर निर्णय आएछ,’ उनले भनिन्, ‘म मेयर, उपमेयर उठ्ने दौडमै छैन, म अब उठ्दिनँ।’पोखरा महानगरमा एमालेबाट मेयरमा १२ जना र उपमेयरमा ११ जना आकांक्षी थिए। मेयरमा दाबेदारी पेश गरेका दीपक पौडेललाई उठाउने निर्णय गरेको एमालेले उपमेयरमा भने दाबी नै पेश नगरेकी गुरूङलाई टिकट दिने निर्णय गरेको थियो। पार्टीले टिकट दिए मेयर उठ्न तयार रहेको उनले बताउँदै आएकी थिइन्।

पोखरामा मेयर उम्मेदवारका विषयमा एमाले कास्कीमा गुरूङले टिकट पाउने सम्भावना रहेको कार्यकर्ताले बताउँदै आएका थिए। मेयरको टिकट नपाएका कारण उपमेयरमा फेरि दोहोरिन नचाहेको उनी निकट कार्यकर्ताहरूको भनाइ छ।