जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक : ‘फेवा टू बेगनास’ मेट्रो , रिङरोड बनाउने आश्वासन

जन्मभुमि खबर ,
पोखरा ।

पाँच दलीय गठबन्धनले पाेखरामा ‘फेवा टू बेगनास’ मेट्रो चलाउने बताएकाे छ । हिजाे पोखरामा घोषणापत्र सार्वजनिक गर्दै पाँच दलीय गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ‘फेवा टू बेगनास लेक’ १० किलोमिटर दूरीमा रहेको र मेट्रो चलाउन सम्भव रहेकाे बताउनु भएकाे हाे । उहाँले मेट्रो चलाउन आवश्यक पैसा नभए पीपीए मोडलमा भए पनि निर्माण गर्न सकिने बताउनु भएकाे छ ।

त्यसैगरी घोषणा पत्रमा झन्डै तीन दशकदेखि अघि बढेको पोखरा रिङरोडको योजनालाई पनि प्राथमिकतामा राखिएको छ । रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले गरेको अध्ययन अनुसार ८४ किलोमिटर रिङरोड बन्ने सम्भाव्य अध्ययनले देखाएको छ । आचार्यले रिङरोडलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गसँग जोड्दै बाइपासको रुपमा प्रयोग गर्न सकिनेगरी याेजना बनाइने बताउनु भयाे। बाइपास रोडले पोखरा बजारभित्र गाडीको चाप घटाउने उहाँकाे भनाइ छ ।

वर्षाैँदेखि पोखरा–९ मा बसपार्क बन्न सकेको छैन । त्यो बसपार्क पनि राजनीतिक दलको चुनावी एजेन्डा बन्दै आएको छ । मेयरका उम्मेदवार आचार्यले भने पोखरा–९ मा रहेकाे बसपार्कलाई सिटी बसपार्कको रुपमा विकास गर्ने र ठूला गाडीको लागि लेखनाथ क्षेत्रमा बसपार्क बनाउने योजना रहेकाे उहाँले बताउनु भएकाे छ ।

फोहरलाई मोहरमा परिणत गर्ने योजनादेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै फाष्ट ट्रयाक सडक निर्माण गर्ने समेतका याेजना घोषणापत्रमा उल्लेख गरिएकाे छ। गठबन्धनले अहिले भइरहेको विमानस्थल नजिकैको मुस्ताङचोकदेखि कोत्रेसम्म फाष्ट ट्रयाक बनाउने योजना अघि सारेकाे छ ।

घोषणापत्रमा फेवाताल सौन्दर्यकरण गर्ने उल्लेख गरिएकाे छ। घोषणापत्रमा पोखरामा अझै पनि ६०९ किलोमिटर सडक खण्ड धुलाम्य रहेकाे उल्लेख गर्दै आउँदाे चुनावपछि पूरै कालोपत्र गर्ने योजना समेटिएकाे छ । पाेखरामा ६३४ किलोमिटर कालोपत्र सडक रहेको उल्लेख गर्दै आचार्यले ११० किलोमिटर कङ्क्रिट, ८ किलोमिटर मिश्रित र १०३ किलोमिटर ग्राभेल सडक खण्ड रहेको जानकारी दिनुभयाे । आउँदाे पाँच वर्षभित्र १ हजार ५३५ किलोमिटर सडक खण्ड कालोपत्र गर्ने योजना घाेषणापत्रमा उल्लेख गरिएकाे छ ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार कोपिला रानाभाटले भने आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दृढता व्यक्त गर्नुभएकाे छ ।