जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१७ औं संस्करणको ‘लेखनाथ महोत्सव’ माघ १३ देखि २४ गतेसम्म

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा लेखनाथमा महोत्सव हुने भएको छ । उद्योगी तथा व्यवसायीको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा १७ औं संस्करणको ‘लेखनाथ महोत्सव’ हुने भएको हो । स्थानीय उत्पादनको प्रबर्द्धन गर्ने उदेश्यले आगामी माघ १३ देखि २४ गतेसम्म डाँडाको नाकमा महोत्सवको आयोजना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

कोभिड १९ को कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको उनले बताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने नारासहित हुन लागेको महोत्सवमा करिब ३०० स्टल रहने अध्यक्ष आत्रेयले बताए ।

मेलामा राखिएको स्टलबाट १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । त्यसैगरी महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र ९० लाख खर्च भई १५ लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए  । सर्वसाधारणका लागि पुस ११ बाट स्टल बुकिङ खुल्ला हुने उनले बताए । महोत्सवमा साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी लगायतका कार्यक्रम हुनेछ ।

यस्तै जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजातिका झाँकी र भेषभूषा सहितका र्‍यालीको प्रदर्शनी रहनेछ । ख्याति प्राप्त हास्य-व्यङ्ग्य कलाकारको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, युवाहरुलाई लक्षित लाइभ म्युजिक कन्सर्ट कार्यक्रमको मुख्य आकर्षणमा रहेको आयोजक पक्षले बताएको छ ।