जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१५ वर्ष अघि हत्या गरेर फरार रहेका पोखराका अशोक गुरुङ बहराइनबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पन्ध्र वर्ष अघि हत्या गरेर फरार रहेका पोखराका अशोक गुरुङ बहराइनबाट पक्राउ परेका छन् ।

२०६३ वैशाख २९ गते पोखरा ३२, सातमुहानेमा सामान्य विवादमा रोजन राईको हत्या गरी फरार गुरुङ हत्यामा संलग्न भएको पुष्टि भएपछि मंसीर २७ गते रेड नोटिस जारी भएको थियो । गुरुङले राईलाई दाउराको चिर्पट प्रहार गरी गम्भीर घाईते बनाएका थिए । राईलाई अस्पताल लग्दा मृत घोषित गरिएको थियो ।

‘यो केसको फाइल हेरेँ । उनी पक्राउ नपरेको थाहा भएपछि प्रक्रिया अघि बढाएँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले भने – ‘बहराईन प्रहरीबाट पक्राउ भइसकेको जानकारी माथिबाट प्राप्त गरेको छु ।’

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले बहराइन प्रहरीसमक्ष गरेको अनुरोधको आधारमा त्यहाँको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले पनि सञ्चारमाध्यमलाई जनाए अनुसार तत्कालिन समय गुरुङ संलग्न भएको बारे नखुल्दा वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए । अहिले हत्यामा उनी संलग्न भएको खुलेपछि रेडनोटिस जारी भएको थियो ।

गुरुङलाई कूटनीतिक च्यानलबाट सुपुर्दगी गरेर काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको हो । एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते कसूरका आरोपी केदार ढुंगानालाई सुपुर्दगी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा पक्राउ परेका थिए ।