जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर वर्षा, हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात,लोमान्थाङमा टेलिफोन सेवा अवरुद्ध

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । काठमाण्डौसहित नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगर लगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ ।

यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम घट्दै गएकाले चिसो अझै बढ्ने छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै चिसो स्याँठ चल्न थालेको छ । यसले त्यहाँको जनजीवन कष्ठकर बनाएको छ । स्थानीयबासिन्दाले तराईमा शितलहर चलेको बताए पनि मौसम पूर्वानुमान महाशाखाले औपचारिक घोषणा गरेको छैन ।

यस्तै, मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् । भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने छ । भोलि मौसम केही खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।