जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डेढ वर्षदेखि रोकिएको स्मार्ट लाइसेन्स आजदेखि छाप्न सुरु

यातायात व्यवस्था विभागले आजदेखि १४ लाख स्मार्ट लाइसेन्स छाप्न सुरु गरेको छ। विगत डेढ वर्षदेखि स्मार्टकार्ड छपाई प्रकृया रोकिएको थियो।

अब यसले निरन्तरता पाएसँगै पर्खाइमा रहेकाहरूले केही समयभित्रै लाइसेन्स पाउन थाल्ने विभागको भनाइ छ।

विभागले फ्रान्सेली कम्पनी सेल्प एसएसएलबाट १४ लाख स्मार्ट कार्ड पाइसकेको छ। कोभिड महामारीयता स्मार्ट कार्ड आएको थिएन। जसले गर्दा छपाई र वितरण रोकिएको थियो।

विभागका अनुसार हाल चारलाख बढी चालकहरु स्मार्ट लाइसेन्सको पर्खाइमा छन्। उनीहरु राजश्व तिरेको रसिदको भरमा छन्।

विभागले पहिलो चरणमा लामो समयदेखि पर्खाइमा रहेका चालकहरुलाई लाइसेन्स वितरण गर्नेछ।
त्यसपछि नयाँलाई दिइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

‘हामी पहिले एउटा कार्यालयलाई पठाउँछौँ। त्यसपछि अर्को गर्दै देशभरका कार्यालयबाट कार्ड वितरण गर्छौँ,’ महानिर्देशक घिमिरेले भने।

विभागले बिहान सात बजेदेखि बेलुका ११ बजेसम्म दुई सिफ्टमा स्मार्ट लाइसेन्स छाप्ने बताएको छ।

विभागका अनुसार स्मार्ट लाइसेन्सका लागि दैनिक ६ हजार आठ सय ४ आवेदन पर्ने गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ट्रायल उत्तीर्ण गर्ने बित्तिकै परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको बताइन्।

‘अब ट्रायल पास भएकै दिन परीक्षणकालीन लाइसेन्स दिने तयारी हाम्रो छ। यसले गर्दा स्मार्ट लाइसेन्सको झन्झट पनि कम हुन्छ,’ उनले भनिन्।