पर्यटकका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुल्ला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएका हुन् ।
हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार अनुमति लिई प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । जङ्गल सफारी, जङ्गल वाक, -याफ्टिङ तथा डुङ्गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उनले जानकारी दिए । “निकुञ्ज प्रवेश गर्नेले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्ने छ”, उनले भने, “अनिवार्यरूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ ।” उनका अनुसार जङ्गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउनेछन् । तोकिएको रुटमा मात्रै जङ्गल ड्राइभ, जङ्गल वाक, क्याम्पिनिङ तथा फिसिङ गर्न पाइने छ ।
कोरोना महामारीका कारण बन्द रहेको निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्गेको ठूलो बथान हो । सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्गेको बथान हेर्ने गर्दछन् । बाघको सङ्ख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्ज रहेको छ । निकुञ्जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चरा पाइने गर्दछन् । हात्ती र गैँडासमेत निकुञ्जमा रहेका छन् ।
निकुञ्जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हिरापुर क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेका छन । सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले दशैँ–तिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको बताए । पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो ।
जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दशैँ–तिहार सुरक्षाका लागि सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ । त्यसका लागि मातहतका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानले बताए । प्रहरीले दशैँ–तिहारमा सीमानाकासहित पूर्व–पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, आपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायातलगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाउँदै आएको छ । यस वर्ष पनि प्रहरी शान्ति सुरक्षाका लागि योजनाबद्धरूपमा अघि बढ्न लागेको हो । रासस