जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा चाडपर्व सुरक्षा योजना लागु

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय
गगनगौंडा कास्कीले चाडपर्व सुरक्षा योजना २०७८ तयार गरी कार्यान्वयनमा ल्याएको छ । यसका लागि ३०३ जना प्रहरी परिचालन गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ ।

नेपाली हिन्दूहरुको महान चाड विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै सुरक्षा योजना तय गरेको हो । चाडपर्वको रौनकसंगै कोरोना भाइरसको महामारीसमेत बढ्ने सम्भावना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले जनाएको छ ।

चाडपर्वको समयमा सवारी दुर्घटना लगायत सवारी नियम उल्लंघनका घटनामासमेत वृद्धि हुन सक्ने हुँदा त्यस्ता घटनाहरुलाई समयमै नियन्त्रण गरी सुरक्षित तवरले चाडपर्व मनाउने, कोरोना महामारीको जोखिम न्यूनीकरण गर्ने वातावरण सृजना गर्न गण्डकी प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट कार्यान्वयन गराउन निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताहरुमा ट्राफिक चेतनाको विकास गर्ने, सवारी साधनको प्रयोग गरी हुने अपराध नियन्त्रण गर्ने चाडपर्व सुरक्षा योजनाको लक्ष्य छ ।

यसैगरी सडक यातायातलाई सुरक्षित बनाई यात्रुमैत्री सहज वातावरण मिलाउने र कोरोना संक्रमणको खतराबाट सर्वसाधरणलाई सुसूचित गराई जोखिम न्यूनीकरण गर्ने लक्ष्य रहेको डिएसपी केसीले जानकारी दिए ।

सुरक्षा योजना अनुसार मुख्यरुपमा क्षमता भन्दा बढी यात्रु तथा मालसामान ओसारपसार हुन नदिने, यात्रु ठगिने र लुटिने सम्भावनालाई न्यून गर्ने, अतिविशिष्ठ र विशिष्ठ व्यक्तिका साथै धार्मिक स्थलहरुमा तीर्थयात्री र दर्शनार्थीहरुको व्यवस्थापन गर्ने र कोरोना महामारीको जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्ने र विपद उद्धार गर्ने कार्य गरिने डिएसपी केसीले बताए ।

यस योजनामा गण्डकी ६७ स्थानमा स्थायी डिउटी, ५१ स्थानमा नियमित चेकिङ, २८ स्थानमा मापसे चेकिङ, २६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने बताइन्छ ।

यस्तै, मोवाईल गस्ती १५ वटा, १२ टोलीले क्यूआरटी परिचालन, १६ वटा राजमार्ग गस्ती र १२ टोली परिचालन गरेर विपद उद्वार तथा कोरोना जोखिम नियन्त्रण गरिने डिएसपी केसीले बताए ।