जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यो वर्षको मनसुन अझै केही दिन लम्बिने

वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ । भोलि अक्टोबर २ मा मनसुन सकिने दिन भए पनि अझै दुई, चार दिन मनसुन रहिरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।

यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ मा पनि मनसुन नबाहिरिने भएको हो ।

यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

देशभरकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने छैन । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना छ । भोलिको मौसम पनि यस्तै नै रहने मौसमविद् पौडेलले बताउनुभयो।