जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाविरुद्धको खाने औषधि परीक्षण

परीक्षणको क्रममा रहेको एक औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरिएको छ।

हालसालै गरिएको परीक्षणका क्रममा कोभिडका बिरामीलाई दिनको दुई पटक मोल्नापिराविर नाम गरेको ट्याब्लेट दिइएको थियो। अमेरिकी औषधि उत्पादक मर्कले नतिजा निकै सकारात्मक आएको भएपनि वाह्य निगरानीकर्ताले परीक्षणलाई चाँडै रोक्नका लागि भनेको जनाएको छ।

मर्कले अबको दुई हप्ताभित्र अमेरिकामा उक्त औषधि आकस्मिक प्रयोगको स्वीकृतिका लागि निवेदन दिने बताएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति जो वाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले उक्त औषधिको परीक्षण नतिजा ‘निकै राम्रो खबर’ रहेको बताएका छन्। तर, फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले परीक्षणको तथ्यांकको समीक्षा नगर्दासम्म सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

यो औषधि मुख्य रूपमा इन्फ्लुएन्जाको उपचारका लागि विकसित गरिएको थियो। कोरोना भाइरसको अनुवंशिकता शरीरमा फैलन रोक्नका जेनेटिक कोड राखेर यसलाई परीक्षण गरिएको थियो।

७७५ जनामा गरिएको परीक्षणका क्रममा ७.३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भए।  ‘डमी’ औषधि दिइएकामध्ये १४.१ प्रतिशत अस्पताल भर्ना हुनुपरेको देखियो। मोल्नापिराविर खाएकाहरुको कोभिड–१९ बाट मृत्यु भएन, तर डमी औषधिमात्रै दिइएकामध्ये ८ जनाको कोरोनाका कारण ज्यान गएको हो।

डेटा एक प्रेस विज्ञप्तिमा प्रकाशित गरिएको थियो।

मर्क कोभिडको उपचारका लागि औषधिको परीक्षण परिणामको रोपोर्ट बाहिर ल्याउने पहिलो कम्पनी भएको छ। अन्य औषधि कम्पनीहरुले पनि यस्तै खालका उपचारबारे काम गरिरहेका छन्।

अमेरिकी कम्पनी फाइजरले पनि हालसालै दुई अलग-अलग एन्टीभायरल ट्याब्लेटको परीक्षण सुरु गएको छ भने स्विस कम्पनी रोशले पनि यस्तै खालको औषधिबारे काम गरिरहेको छ।