जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा अब ट्रायल कटाएकै दिन अस्थायी लाइसेन्स लिने

जन्मभुमि खबर,
पोखरा ।

जनकपुरबाट मजदुरी गर्न पोखरा आएका रमेश थापाको आफ्नै मोटरसाइकल छ । कामका सिलसिलामा पोखराका विभिन्न ठाउँमा पुगिरहनुपर्छ । तर, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुँदा समस्या थियो ।

गतवर्ष लाइसेन्सका लागि आवेदन दिएका थापाले लिखित परीक्षा पास गरे कोभिड महामारीका कारण प्रयोगात्मक परीक्षा दिन पाएनन् । लामो समयपछि मंगलबार ‘ट्रायल’ कटाए । सबै प्रक्रिया पूरा गरे पनि आधिकारिक लाइसेन्स हात पर्न उस्तै लामो समय पर्खनुपर्ने हो कि भन्ने उनमा चिन्ता पनि थियो ।

तर, ट्रायल कटाएको तेस्रो दिन शुक्रबार थापा दङ्ग थिए । यातायात व्यवस्था कार्यालय, कास्कीको प्रांगणमा भेटिएका उनको हातमा ‘स्मार्ट कार्ड’ थियो । जुन, यातायात व्यवस्था कार्यालयले स्मार्ट लाइसेन्सको विकल्पमा उनलाई दिएको थियो । उक्त कार्ड दुरुस्तै स्मार्ट लाइसेन्सजस्तै देखिन्छ । तर, स्थायी भने होइन ।

‘२/३ वर्ष पहिले नै ट्रायल कटाएका साथीहरुले लाइसेन्स पाएका थिएनन् । ट्रायल पास गरे पनि कति समयसम्म कागजी चिर्कटो बोकेर हिँड्नुपर्छ कि भन्ने लागेको थियो,’ थापा दङ्ग पर्दै भने, ‘अब टाढा टाढा काम गर्न जान पनि सजिलो हुने भयो । यसको म्याद सकिँदासम्म स्मार्ट लाइसेन्स आइसक्छ भन्नु भएको छ ।’

लिखित र ट्रायल दुवै परीक्षा पास गरिसकेपछि पनि लामो समयसम्म स्मार्ट लाइसेन्स नपाउँदा हैरानी खेपेका कास्कीका सेवाग्राहीले अब भने थारुले जस्तै तुरुन्तै अस्थायी लाइसेन्स पाउने भएका छन् । शुक्रबार गण्डकी प्रदेशका यातायात तथा भौतिकमन्त्री कुमार खड्काले अस्थायी लाइसेन्स वितरण कार्यक्रमको उद्घाटन गरेका छन् ।

स्मार्ट लाइसेन्स आउन ढिला भएपछि विकल्पमा स्मार्ट कार्ड ट्रायल कटाएर राजश्व तिरेको १० मिनेटमै दिने उपलब्ध गराउने व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालय, कास्कीले जनाएको छ । एक वर्षका लागि उपलब्ध गराइने उक्त अस्थायी स्मार्ट कार्ड सेवाग्राहीको वास्तविक परिचयसहित हुने भएकाले सबैलाई सहज हुने कार्यालयका अधिकृत रमननाथ आचार्यले दाबी गरे ।

‘४ वर्षअघि परीक्षा पास गरेका सेवाग्राहीले पनि अहिलेसम्म स्मार्ट लाइसेन्स पाएका छैनन् । उनीहरुले बोकेर हिँडेको चिर्कटोमा फोटो हुँदैन, पानीले भिजेर कार्बन मेटिएर जाने समस्या छ,’ आचार्यले भने, ‘अब स्मार्ट कार्डले ती सबै समस्या समाधान हुने देखियो ।’ रसिदको भरमा सवारी चलाउँदा दुरुपयोग पनि बढेको उनको भनाइ थियो ।

२०७४ सालमा लाइसेन्स परीक्षा पास गरेका सेवाग्राही अहिलेसम्म कागजी चिर्कटो बोकेर हिँडेको र कार्यालयमा स्मार्ट लाइसेन्सबारे सोध्न आउने सेवाग्राहीको जवाफ दिँदा दिँदा आफूहरुलाई पनि हैरान भएको आचार्यले सुनाए । ‘अब हामीलाई पनि सजिलो भयो । स्मार्ट कार्डको विकल्प पाएपछि यसैले त्यसको काम गर्नेछ । यो कार्ड स्मार्ट लाइसेन्सभन्दा पनि राम्रो सुविधायुक्त छ,’ उनले भने ।

सवारी चालकको लाइसेन्स नहुँदा झन्झटिलो भएको र स्मार्ट कार्डले उक्त समस्या हट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख डिएसपी ठगबहादुर केसीले विश्वास व्यक्त गरे । ‘रसिदमा फोटो हुँदैन । हामीलाई चेकजाँच गर्न र दण्डजरिवाना गर्न पनि अकमकाउने अवस्था थियो,’ उनले भने, ‘अब केही सजिलो हुने देखियो । यसले राज्यप्रति सर्वसाधारणको विश्वास पनि बढ्नेछ ।’

नयाँ लाइसेन्सवालाले ट्रायल कटाएर अस्थायी स्मार्ट कार्ड पाएपनि नवीकरण गर्नेहरुलाई भने उक्त सुविधा हुने छैन । यातायात व्यवस्था विभागले विवरण उपलब्ध नगराउँदा नवीकरण गर्नेहरुलाई अस्थायी कार्ड दिन तत्काल असमर्थ रहेको प्रदेश सरकारका भौतिक पूर्वाधार यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताए । उनले यातायात कार्यालयलाई विचौलियारहित बनाउनसमेत आग्रह गरे ।

प्रिन्टर मेसिन र स्मार्ट कार्डका लागि कार्यालय ५ लाख रुपैयाँ खर्चेको छ । एउटा कार्ड छपाइ गर्न ५० देखि ६० रुपैयाँसम्म लाग्ने कार्यालयले जनाएको छ । भदौ २७ देखि असोज १३ गतेसम्म ट्रायल परीक्षा पास गरेका सेवाग्राहीलाई पहिलो चरणमा स्मार्ट कार्ड वितरण गरिँदै छ । स्मार्ट कार्ड हराएमा ५ सय रुपैयाँ तिरेर प्रतिलिपि निकाल्न पाइनेछ ।