जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वर्णकार कल्याण समितिको अधिवेसन सम्पन्न

नवीन भण्डारी,
जन्मभुमि खबर,पोखरा ।

सुनचाँदी कालिगढ़हरुको छाता संगठन स्वर्णकार कल्याण समिति कास्कीको १७ औं साधारण सभा तथा सातौं अधिवेसन सम्पन्न भएको छ। स्वर्णकार कल्याण समिति कास्कीद्धारा आयोजित उक्त कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेस सांसद माननीय बिन्दुकुमार थापाले सुनचाँदीको श्रम क्षेत्रमा देखिएको बिद्यमान ज्याला जर्तीको समस्या संस्थागत पहलबाट नै समाधान गर्न आग्रह गर्नुभयो। व्यवसाय बच्यो भने नै कालिगढ़ रहन्छ भने कालिगढ़ बिना व्यावसाय अधुरो रहन्छ। यसले दुवै रहनकोलागि व्यवसाय फस्टाउनु पर्छ। यसमा गहना निर्माण गर्दा लागेको श्रमको समय सापेक्ष उचित ज्याला दिनुपर्छ। आपसी सुमधुर सम्बन्धबाट व्यवसायी र कालिगढ़ दुवै पक्षको सफलता हुन्छ। श्रमिकको श्रम अधिकार भित्र पर्ने भएकोले समय सापेक्ष ज्याला पाउनु पर्नेमा जोड दिदै यसमा रहेको असमानता आपसमा छलफल गरी टुंगो लगाउनु पर्ने र समस्या समाधानका लागि सहजीकरण गर्न आफू तयार रहेको समेत बताउनु भयो। अहिले आधुनिक समय र प्रबिधिको विकाससंगै आधुनिक गहनाको माग बढेकोले बिदेशी कालिगढ़हरुका कारण नेपाली कालिगढ़हरु बिस्थापित हुनुपर्ने अबस्था आएकोले नेपाली मौलिक गहनाको संरक्षण सम्बर्द्धन गर्नुका साथै आधुनिक गहना बनाउने तालिम दिन जरुरी रहेको र यसका लागि आवश्यक परे आफूले तीनै तहको सरकारसंग समन्वय र सहजीकरण गर्ने आश्वासन समेत दिनुभयो। अहिलेको कालिगढ़ भोलिको व्यवसायी हुने भन्दै आपसमा नङ र मासुको जस्तो दरिलो सम्बन्ध कायम राख्नु पर्ने धारणा राख्नुभयो।

सोही कार्यक्रममा बिशेष अतिथि सुनचाँदी व्यवसायी माहासंघ गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमले बिगतमा चुलो चौकोबाट शुरु भएको गरगहना बनाउने कार्य अहिले आधुनिक प्रविधिको प्रयोग संगै शोरुममा पुगेको बताउनु भयो। व्यवसाय सुदृढ तथा सफल बनाउनको लागि कालिगढ़हरुलाई समय सापेक्ष ज्याला दिनुपर्नेमा जोड दिनुभयो। बिदेशी कालिगढ़हरुका कारण स्वदेशी कलिगढ़ बिस्थापित हुने र रोजगारी गुम्ने खतरा बढेकाले अब आधुनिक गहना बनाउने तालिम दिने र पोखरामा ट्रेनिङ्ग सेन्टर चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोहि अवसरमा भविन्द्र विश्वकर्मा ,राम बराल ,मन बहादुर लाम्गादे ,आरजु बिष्ट ,पुर्व अध्यक्ष राजु गौतम लगायतले सुनचाँदी मौलिक गरगहना,कालिगढ़,व्यवसायीको संरक्षण र हित अनुकुल सरकारले स्पष्ट नीति ल्याउन माग गर्नुभएको थियो। सोहि अवसरमा समितिले संस्थापक ,पूर्व अध्यक्षहरु र वर्तमान सल्लाहाकारहरुलाई सम्मान गरेको थियो। उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुवन लोहनीले गरेका थिए भने कार्यक्रम सन्चालन संस्थाका सचिव सुरेन्द्र विकले गर्नुभएको थियो।
सत्रौं साधारण सभा तथा सातौं अधिवेसनको बन्दसत्रमा अध्यक्ष ,सचिव र कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत भएको थियो। कानुनी सल्लाहाकार कुल प्रसाद अधिकारीको संयोजकत्वमा बनेको निर्वाचन समितिले सुरेन्द्र विकको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गराएको थियो। २०७८/०१/०४ स्वर्णकारकल्याण समितिको अधिवेसन सम्पन्न भएको थियो ।