जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण : संचालक समिति सदस्य भट्टराई पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरास्थित सुर्यदर्शन सहकारीको संचालक समितिका एकजना सदस्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षका प्रमोद भट्टराई छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरेर गोकर्णेश्वर नगरपालिका- ४ माकलबारीबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।

सुनसरीको इनरुवा नगरपालिका–५ घर भएका भट्टराई सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान थालेपछि फरार भएका थिए ।

उनलाई पक्राउ गरी बिहीबार १ बजे दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको प्रहरीले जनाएको छ ।

निक्षेपकर्ताको रकम हिनामिना गरेको कसुरमा सुर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेल सहित पक्राउ पर्नेको संख्या ५ पुगेको छ । सुर्यदर्शन सहकारी पोखरा महामहानगरपालिका वडा नम्बर–५ मा अवस्थित छ ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध ईन्टरपोलबाट डिफ्युजन जारी गरिएको छ । आरोपीहरुले बचतकर्ताको १ अर्ब ८ करोड रकम हिनामिना गरेको आरोप छ ।

सुर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन् ।