जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड को सम्पुर्ण तयारी पूरा,पत्रकार सागरराज तिमिल्सिना वर्ष उत्कृष्ट खेलपत्रकार घोषित

जन्मभुमि खबर ,
पोखरा ।

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड को सम्पुर्ण तयारी पूरा भएको छ ।

पत्रकार सागरराज तिमिल्सिना वर्ष उत्कृष्ट खेलपत्रकार घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गर्ने सातौं पोखरा स्पोर्टस् अवार्डमा उनलाई ३५ हजारसहित सो अवार्ड प्रदान गरिनेछ । प्रतिभा छनोट समितिको सिफारिसलाई मञ्चको २५ औं बैठकले अनुमाेदन गरेको महासचिव राजाराम पौडेलले जनाए। आयोजकले छनोट समितिको नाम भने गोप्य राखेको छ ।

समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिना हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख छन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत उनले पोखरा एफएम, एभिन्युज टेलिभिजन, सेतोपाटी डटकम, गन्थन डटकम लगायत सञ्चारमाध्यममा काम गरिसकेका छन् ।

यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियार सो अवार्डबाट सम्मानित भइसकेका छन् ।

पोखरा सभागृहमा शनिबार दिउँसो पौने ३ बजे सुरु हुने समारोहमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।