जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

समरसताको पक्षधर गणेश बराइली

रवीन्द्र माकाजू
विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराईलीलाई पोखरामा धेरैले सामाजिक अभियन्ताका रूपमा चिन्दछन् । वि.सं. २०१९ साल माघ २३ गते भारतको जलपायुगढीमा जन्मिएका बराइलीले समाजमा हुने जातीय विषमता र विभेदका विरुद्ध चर्को आवाज उठाउन कहिले पछि पर्दैनन् । विश्व हिन्दु महासंघका केन्द्रीय आमन्त्रित सदस्य बराइलीका विचारमा जातीय विभेद हटाउन राज्य र जागरुक समाज नै सक्रिय भएर लाग्नुपर्ने हुन्छ । किनकी यो विभेदको प्रमुख जड भनेको राज्यको विभेदकारी नीति पनि हो । कानुन बनाएर मात्र समस्याको समाधान हुँदैन ।
उनको विचारमा दलित समुदायले आफ्ना हकअधिकारका साथसाथै चेतना र शिक्षामा पनि जोड दिन आवश्यक छ । सामाजिक अभियन्ता एवं समाजका अध्यक्ष बराइलीले आफ्नो कार्यकालमा विश्वकर्मा समाजको भवन निर्माण कार्य सम्पन्न गरिसकेका छन् । जुन भवन बनाउन करिब डेढ करोड खर्च भएको थियो । हाल उक्त भवनमा विश्वकर्मा योग केन्द्र, सामाजिक, धार्मिक गतिविधिहरु सञ्चालन भैरहेको छ ।
उनले धेरै वर्ष आए.एन.एफ.मा प्राविधिक सिनियर सुपरभाइजरका रूपमा सेवा गरे । हाल अहिले बराइली इलेक्ट्रिक पसलमा पनि आवद्ध छन् । उनले पेशा व्यवसायका साथसाथै सामाजिक सङ्घसंस्थामा पनि हात हालेका छन् । उनी बराइली कुल संरक्षण समितिका अध्यक्ष पनि हुन् । उनले निकट भविष्यमा लोपोन्मुख हुन लागेको पेशा तथा नेपाली खुकुरी लगायतका हतियार संरक्षण हेतु राष्ट्रिय लेवलको विश्वकर्मा संग्रहालय खोल्ने तयारीमा छन् ।
हाल उनी समाजसेवा मै जुटिराखेका छन् । विशेषगरी समाजमा हुने विभेदलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर अहोरात्र लागेका छन् । आफ्नै विश्वकर्मा समाजभित्र कर्मकाण्डमा एकरुपता ल्याउनका लागि विश्वकर्मा कर्मकाण्ड भन्ने पुस्तक लेखेका छन् । त्यस्तै उनको संयोजकत्व या सम्पादनमा वडा नं. १५, समाज दर्पण नयाँ गाउँ स्मारिका जस्ता पुस्तक प्रकाशन भएका छन् ।
उनी सार्वजनिक स्थलहरुमा हुने कुनै पनि प्रकारका विभेद सहन सक्दैनन् । यसका लागि सङ्घसंस्थालाई सङ्गठन गर्ने, एकत्रित गर्ने कार्य उनले गर्दै आएका छन् । यसै प्रसङ्गमा बाटुलेचौर पोखरा १६ को किरियापुत्री भवन प्रकरण होस् या वडा नं. २४ मा घटेको विभेदकारी घटनामा दोषी उपर कारवाहीमा लागि चर्को आवाज उठाउँदै आएका छन् ।
पिता बुद्धिमान र माता धनमायाका कनिष्ठ सुपुत्र गणेश हाल पोखरा १५ नयाँ गाउँमा बसोबास गर्दै आएका छन् । उनले आफ्ना सन्तानहरुलाई उच्च शिक्षा दिएका छन् । उनले समाजमा पु¥याएको योगदानको उचित कदर हुन नसकेता पनि उनमा कुनै असन्तुष्टता र आशा पनि छैन । बराइली भन्दछन्– मलाई समाजले प्रदान गरेको स्नेह र सद्भाव नै मेरो लागि ठूलो पुरस्कार हो ।
सामाजिक अभियन्ता गणेश बराइलीले नेपाल र मित्र राष्ट्र भारतको अतिरिक्त चीन, अमेरिका, जापान, अष्टे«लिया लगायतका भूमि टेक्ने सौभाग्य पाएका छन् । २०३७ सालमा चापाकोटकी कौशल्या देवीसँग वैवाहिक सम्बन्ध गाँसेका बराइलीका दुई सुपुत्र र दुई सुपुत्री छन् ।