जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विदेशी पर्यटकलाई पदयात्रामा जाँदा गाइड अनिवार्य

यसअघि समूहमा पदयात्रामा जानेले एक हजारमै टिम्स कार्ड पाउने गरेकामा अब सबैखाले पर्यटकले प्रतिव्यक्ति दुई हजार तिर्नुपर्नेछ

नेपाल पर्यटन बोर्ड (एनटिबी)ले १ अप्रिल २०२३ देखि लागू हुने गरी ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआइटी)’ बन्द गरेको छ । यो व्यवस्थासँगै विदेशी पर्यटकले अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनुपर्नेछ ।

नेपाल पर्यटन ऐन, २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’बमोजिम यस्तो व्यवस्था गरेको पर्यटन बोर्डले जनाएको छ । नेपालको साहसिक गन्तव्यहरूमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको बोर्डको भनाइ छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बिमासमेत गरिनेछ । पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर एक्लै पदयात्रामा जाँदा पर्यटक हराउने र असुरक्षित हुनेजस्ता समस्या आइरहेका थिए ।

पर्यटनमन्त्री सुदन किराँतीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक टे«ड युनियनका प्रतिनिधिबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै (एफआइटी)’ बन्द गर्ने निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिए । ‘यस विषयमा पहिलेदेखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्ने नै थियो,’ उनले भने, ‘हाम्रा गन्तव्यलाई सुरक्षित, उद्धारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको हो, यसले समग्रमा राम्रौ सन्देश प्रभाव गर्नेछ ।’

यो निर्णयसँगै नेपालमा ट्रेकिङ गाइडहरूको रोजगारीका साथै आयसमेत बढ्ने कार्यकारी निर्देशक रेग्मीले बताए । बोर्डको तथ्यांकअनुसार नेपालमा टे«किङ गर्न आउने कुल पर्यटकमध्ये ३० प्रतिशत एफआइटिवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो ।

नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ हजार हाराहारी पर्यटक ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआइटी)’का रूपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । बोर्डले एफआइटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेसमेत उनको भनाइ छ ।

यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति एक हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्नेछ । सार्क देशका नागरिकको हकमा यसअघि दुई सय रुपैयाँ लाग्ने गरेकोमा अब भने एक हजार रुपैयाँ लाग्ने निर्देशक लामिछानेले जानकारी दिए ।