जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लमजुङ भूकम्प : भत्किएका घर निर्माण चाँडै सुरु गर्ने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

लमजुङ – लमजुङमा भूकम्पका कारण दुई सयभन्दा बढी घरमा क्षति पुगेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाकाे खुदी भुलभुले आसपास केन्द्रविन्दु भएर हिजो (बुधवार) बिहान ५:४२ मा गएको भूकम्पका साथै त्यसपछिका परकम्पका कारण दुई सय ६५ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीले जानकारी दिनुभयो ।

‘दुई सय ६५ घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको विवरण प्राप्त भएको छ । घरहरू चर्किएका, भत्किएका छन् । परकम्प आइरहेकाले ती घर बस्नका लागि जोखिम रहेका छन्’, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो । भूकम्पका कारण यहाँका ६ जना घाइते भएका थिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भूकम्पका कारण विशेषगरी मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका र दोर्दी गाउँपालिका क्षेत्रमा क्षति पुगेको छ ।

यी पालिकाका ग्रामीण क्षेत्रमा रहेका कच्ची घरमा बढी क्षति पुगेको हो । अहिले पनि लमजुङमा भूकम्पको क्षति विवरण सङ्कलन भइरहेकाे प्रहरीले जनाएको छ ।

पालिकाले सहयोगका कार्यक्रम अघि बढाउने

भूकम्प प्रभावित पालिकाहरू अहिले तथ्याङ्क सङ्कलनमा जुटिरहेका छन् । क्षतिको यकिन विवरण सङ्कलनपछि आवश्यकताअनुसार सहयोगका कार्यक्रम अघि बढाइने पालिकाहरूले जनाएका छन् ।

मर्स्याङ्दी गाउँपालिकामा ८२ घरमा क्षति पुगेकाे र दुई सय १२ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ । विवरण सङ्कलनपछि प्रभावितहरूलाई आवश्यकताअनुसार सहयोग गरिने छ’, उहाँले भन्नुभयो, ‘थप सहयोगका लागि भने प्रदेश र सङ्घ सरकारसँग पहल र समन्वय गरिनेछ ।’

यस्तै बेसीसहर नगरपालिकाले पनि अहिले वडामार्फत क्षतिको विवरण सङ्कलन गरिरहेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।

दोर्दी गाउँपालिकाले पनि अहिले भूकम्पले क्षति पुर्‍याएकाे क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ । ती क्षेत्रमा आवश्यकताअनुसार त्रिपाल पनि वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार यस पालिकाका बन्सार, हिलेटक्सार, फलेनी र पुरानो दुवर लगायतका ठाउँमा भूकम्पले क्षति पुर्‍याएकाे छ ।

भत्किएका घर निर्माण चाँडै सुरु गर्ने गण्डकी प्रदेश सरकारकाे प्रतिबद्धता

भूकम्पका कारण भत्किएका घर निर्माणमा गण्डकी प्रदेश सरकार छिटोभन्दा छिटो लाग्ने मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नुभएको छ, ‘भूकम्पका कारण भत्किएका घर निर्माणमा गण्डकी प्रदेश सरकार छिटोभन्दा छिटो लाग्न प्रतिबद्ध छ ।’

उहाँले भूकम्पका कारण थुप्रै घाइते भएकाले आफूलाई चोट महसुस भएको बताउँदै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ ।

तत्कालको राहतका लागि लमजुङमा प्रदेश सरकारले ४० थान टेन्ट र त्रिपाल पठाइसकेको र सङ्घ सरकारबाट पनि ५० थान त्रिपाल पुगेको मुख्यमन्त्री गुरुङले बताउनुभएकाे छ ।

८६ पटकसम्म भूकम्पको धक्का

लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर आज (बिहीवार) बिहान पनि परकम्प गएको छ । बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधवार बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । अब परकम्प बिस्तारै कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो ।

त्यसपछि भने परकम्प जाने क्रम केही कम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चार रेक्टर स्केलको ६ वटाभन्दा धेरै परकम्प गएको छ भने अरू परकम्प चार रेक्टर स्केलको भन्दा कमका रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस