जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लमजुङको दोर्दीमा जिप दुर्घटना: एक जनाको मृत्यु, दुई जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको दोर्दी गाउँपालिका-४, नौथर सेराबाट कामचोक जाँदै गरेको ग १ ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ ५:४० बजेको समयमा दुर्घटना भएको हो। कामचोक गाउँ नपुग्दै चौतारो मुनितिर जिप दुर्घटना भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

दुर्घटना परी मृत्यु हुनेमा दोर्दी गाउँपालिका-४, का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए । उनका अनुसार दुर्घटना परी दुई जना घाइते भएका छन्।

घाइते हुनेहरूमा दोर्दी गाउँपालिका-४ बस्ने ५४ वर्षीया गंगामाया गुरुङ र सोही ठाउँ बस्ने ४७ वर्षीया मनी तामाङ छन्। उनीहरुको अवस्था मध्यम रहेको छ ।

घाइतेको उद्धार गरी उपचारका लागि सदरमुकाम बेशीसहर ल्याइएको छ। जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।

जिपमा चालकसहित ६ जना सवार थिए। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।