जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रेवान पोखरा र द आर्ट अफ लिभिङ्गद्वारा फेवातालका डुङ्गा चालकहरुलाई राहत र स्वास्थ्य सामग्री वितरण

जन्मभुमि खबर,
पोखरा ।
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी गरिएको लकडाउनका कारण थुप्रै मजदुरहरु बेरोजगार बनेका छन् । यतिबेला उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै हम्मे हम्मे पर्न थालिसकेको छ । यस्तोमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङ्गको संयुक्त सहयोगमा पोखराको फेवातालमा डुङ्गा चलाउने मजदुरहरुलाई राहत वितरण गरिएको छ ।

फेवाताल किनार बाराहीघाटमा शुक्रबार विहान भएको राहत वितरण कार्यक्रममा फेवातालका विभिन्न घाटमा कार्यरत डुङ्गा चालकहरुलाई खाद्यान्न सामग्री वितरण गरियो । उनीहरुलाई १ बोरा चामल सहित दाल, चना, केराउ, नुन, तेल, मस्यौरा तथा स्वास्थ्य सामग्री स्यानिटाइजर, मास्क, साबुन लगायत जनही २५ सय बराबरको राहत सामग्री वितरण गरिएको द आर्ट अफ लिभिङ्ग, गण्डकी प्रदेश प्रमुख नरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।

रेवान पोखराले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्दै आएको फेवा डुङ्गा व्यवसायी संगठनले नाम संकलन गरे अनुसार उनीहरुलाई राहत प्रदान गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताउनुभयो । ‘उहाँहरुले सडक महोत्सवमा आयोजना हुने डुङ्गा दौड, रेवानले आयोजना गरेको फेवाताल सरसफाई लगायतका कार्यहरुमा हामीलाई सहयोग गर्दै आउनुभएको छ, यतिबेला उहाँहरु अफ्ट्यारोमा पर्नुभएकाले हामीले राहत वितरणका लागि उहाँहरुलाई रोज्यौं’–रेवान अध्यक्ष बरालले भन्नुभयो ।

राहत पाएपछि डुङ्गा चालकहरुपनि खुसि देखिए । फिष्टेल घाट, अम्मट घाट, गौरी घाट, बाराही घाट, पहारी घाट, फेवा घाट, स्विमिङ्गपुल घाट, बंग्लादी घाट गरि विभिन्न ८ वटा घाटका १ सय १७ जना डुङ्गा चालकहरुलाई राहत वितरण गरिएको फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले जनाउनुभयो । राहत वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारी, वडासदस्य हरिकृष्ण पहारी, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष बलराम पहारी लगायतको उपस्थिती रहेको थियो ।