जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राप्रपा र रवीन्द्र मिश्र समुहबीच एकता

राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुविकरण पक्षधरबीच औपचारिक एकता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरे ।

आज आयोजित विशेष समारोहमा शंख र घण्टको ध्वनि गुन्जाउँदै नेताद्वयले घोषणापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरूले एक–अर्कालाई घोषणापत्र हस्तान्तरण गर्दै माला समेत लगाइदिएका छन् ।

घोषणापत्रमा नरम संवर्द्धनवादी धारलाई बलियो बनाउनका लागि यो एकता गरिएको उल्लेख छ । राजसंस्था पुनर्स्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको एजेन्डालाई पार्टीले अगाडि बढाउने घोषणापत्रमा बताइएको छ । घोषणत्रपमा ४ बुँदा छन् ।

जसअनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् । केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन लिङदेन र मिश्रबीच समझदारी अनुरूप हुने बताइएको छ । यो काम एकता घोषणा भएको ७ देखि १० दिनभित्र गरिने उल्लेख छ ।

यस्तै, प्रदेश तथा अन्य कमिटीको समायोजनका दुवै पक्षका दुई–दुई जना रहने गरी चार सदस्यीय समिति बनाइने छ ।