जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रणनीतिक कार्य योजना तय गर्दै गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

जन्मभुमि खबर,
पोखरा ।

प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो । लोगोमा मूल रुपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकूद परिषद्को लोगो परिकल्पना गरिएको छ ।

उक्त लोगो निर्माणका लागि प्रदेश खेलकूद परिषद्ले सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । सोको सदस्यमा केशव पाठक र निर्मला बराल रहनुभएको थियो । प्रदेश खेलकूदका सदस्यसचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो सार्वजनिक गर्दै रणनीतिक कार्ययोजना तयबारे जानकारीसमेत दिनुभएको थियो ।

सदस्यसचिव गुरुङले प्रदेश खेलकूदको ‘भिजन’, ‘मिसन’, ‘भ्यालुज’ र ‘मोतो’सहित चार वटा रणनितिक आधार तय गरेको जनाउँदै प्रदेश खेलकूद परिषद्ले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जीवनशैली, खेल सबैको नैसर्गिक अधिकार, सुशासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मूलभूतरुपमा अघि सारेको बताउनुभयो । “विश्वको २१औँ शताब्दीको खेलकूदसँगै संयुक्त राष्ट्र सङ्घले अघि सारेको सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्ति गर्न हामी सफल हुनेछौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकूद भन्ने मूल दृष्टिकोणलाई प्रदेश खेलकूदको मार्ग चित्रण गरिने छ ।