जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।

११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरे । यूएईविरुद्ध लगातार दोस्रोपटक अर्धशतक बनाएका गुल्सनले भीम सार्कीसँग मिलेर ९६ रनको साझेदारी गरे । गुल्सन ६७ रनमा अविजित रहे । उनले ८४ बलमा ६ छक्का र तीन चौका प्रहार गरे ।

गुल्सनले यूएईविरुद्ध लगातार दोस्रोपटक अर्धशतक बनाएका हुन् । गुल्सनले ७५ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । यसअघि लिग-२ को अन्तिम खेलमा ३११ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि गुल्सनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक अर्धशतक बनाएका थिए । त्यो खेलमा गुल्सनले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ५० रन बनाएका थिए । त्यसपछि मंगलबार एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध पनि गुल्सनले अर्धशतक बनाएका हुन् ।

त्यस्तै, भीम सार्की ३६ रन बनाएर अविजित रहे । आसिफ शेख आठ रनमा आउट हुँदा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल भने समान १-१ रनमा आउट भएका थिए ।

वर्षाका कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको थियो । वर्षाका कारण सोमबार २७.३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरु भएको थियो । यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएका जुनाइद सिद्धिकी १० रनमा आउट भए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।

यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार दुई विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७.४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर, ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको थियो ।

सोमबार ललितले आसिफ खानलाई ४६, रामिज शाहजादलाई एक र जाहोर खानलाई शून्यमा आउट गराएका थिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । सन्दीपले आयन अफ्जल खानलाई पाँच र रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए । त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । गुल्सन झाले बासिल हामिदलाई १० रनमा आउट गराए ।