जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

म्याच फिक्सिङको हल्ला तथ्यहीन, प्रमाण भए उजुरी गर्नु : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङको हल्ला आधारहीन भएको बताएको छ ।

बुधबार एक बिज्ञप्ति जारी गर्दै मिथ्या र भ्रामक सूचना नफैलाउन पनि क्यानले आग्रह गरेको छ । नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्र्याटेजिक साझेदारका रुपमा सञ्चालन अधिकार पाएको विवादित पृष्ठभूमिका सेभेन थ्री स्पोर्टस, फ्रेन्चाइज टिम र मालिकको अपारदर्शी गतिविधि, खेलाडीहरुलाई फिक्सिङका लागि आएको प्रस्ताव र केहि खेलमा अस्वभाविक नतिजा देखिएपछि म्याच फिक्सिङ भएको धेरैले बताइरहेका छन् ।

तर क्यानले भने उक्त भनाइहरुको खण्डन गर्दै म्याच फिक्सिङ र स्पट फिक्सिङ केही पनि नभएको स्पष्ट पारेको छ । बरु म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी हाल्न आग्रह गरेको छ ।

नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृतिविना खेलाइएको घटनाप्रति गर्न गृहमन्त्री रवि लामिछानेले पनि चासो राखेका छन् । उनले यस सम्बन्धमा अनुसन्धान गर्न मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिइसकेका छन् ।